नर्सरी व्यवसायबाटै सफल उद्यमी कृष्णराम थापाको सफलताको कथा

49

मेहनत र लगनशील भई जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने राम्रो उदाहरण बनेका छन् थापा नर्सरीका संचालक कृष्णराम थापा । २०५७ सालदेखि नर्सरी व्यवसाय सञ्चालन गर्दै आएका थापाले फलफूल तथा तरकारी जातका बिरुवा उत्पादन गरेर महिनामा लाखौँ रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
थापाको हाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेटनजिकै रहेको ठूलो फाँटमा ‘थापा नर्सरी केन्द्र’ रहेको छ । करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको नर्सरीमा आँप, कागती, सुन्तला, बाँस, निगालो, लालीगुराँस, गुलाफ, सयपत्री, गोदावरीजस्ता वनस्पतिका बिरुवाहरूका साथै तरकारीका बिरुवा तथा माटोका भाँडाहरू पनि प्रशस्तै रहेको देख्न सकिन्छ । हाल श्रीमती र दुई छोराछोरीका साथ कीर्तिपुरमै डेरामा बस्दै आइरहेका थापा भन्छन्, ‘नर्सरी व्यवसायबाट सन्तुष्ट छु । यही व्यवसायबाटै आफ्ना छोराछोरीलाई उचित शिक्षा दिन र घरव्यवहार चलाउन पुगिरहेकै छ । मेहनत गर्ने हो भने नर्सरी व्यवसायबाट पनि राम्रैसँग जीवन निर्वाह गर्न सकिन्छ ।’
हिजोआज रोजगारीको खोजीमा विदेशिनेहरूको संख्या बढ्दो छ तर थापाले आफ्नै देशमा बसेर केही गर्छु भन्ने दृढ विश्वासका साथ यो पेसा अँगालेका हुन् । एसएलसी दिएपछिको युवावस्थादेखि नै शुरू गरेको यो व्यवसायलाई थापाले अहिले ३८ वर्षको उमेर हुँदासम्म पनि निरन्तरता दिई नै रहेका छन् । थापाको नर्सरीमा करिब २३ जनाले प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा रोजगारीसमेत पाइरहेका छन् ।
‘नमुना नर्सरी केन्द्र’का रूपमा चर्चित उनको नर्सरीबाट विभिन्न फलफूल जातका वार्षिक ३ लाख बिरुवा उत्पादन हुँदै आएको छ । उत्पादित बिरुवाहरू काठमाडौँ, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा खपत हुने गरेको छ । आफूले उत्पादन गरेका बिरुवाहरू विभिन्न सरकारी निकाय, एनजीओ÷आईएनजीओ तथा प्राइभेट संस्थाहरूमा बढी खपत हुने गरेको थापाको भनाइ छ ।
उपत्यकाबाहिर तथा स्थानीय बजारमा पनि बिरुवाको माग उत्तिकै बढ्दो रहेको थापा बताउँछन्। भन्छन्, ‘अहिले बजारको माग बढ्दो छ, मागअनुसार उत्पादन गर्न नै कठिनाइ भइरहेको छ ।’ उनको नर्सरीमा उत्पादन हुने विभिन्न प्रकारका बिरुवाहरू प्रतिगोटा १५ देखि ३ हजार ५ सय रुपैयाँसम्ममा विक्री हुने गरेको उनी बताउँछन् । थापाका अनुसार तयार हुन समय लाग्ने बिरुवाको मूल्य अलि बढी पर्छ भने छिटो उत्पादन हुने बिरुवाहरूको मूल्य थोरै पर्न जान्छ ।
थापा भन्छन्, ‘खर्च कटाएर पनि मासिक डेढ लाखदेखि २ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ नेपालमा फलफूल खेती मौसमअनुसार हुने गरे पनि फूलको खेती भने वर्षभरि नै हुने भएकाले फूलका बिरुवाहरूको माग दिन प्रतिदिन बढ्दै गइरहेको थापा बताउँछन् । पछिल्लो समय होटल, अस्पताल, सरकारी भवनमा मात्र नभई कतिपय निजी घरका बार्दली र आँगनमा समेत सजावटका लागि फूल राख्ने चलन बढ्दो छ ।
उपभोक्ताको चाहनाअनुसारका बिरुवा उत्पादन गर्ने लक्ष्यअनुरूप उनले व्यवसाय सञ्चालन गरिरहेका छन् । सम्बन्धित निकायले फलफूल व्यवस्थापनसम्बन्धी तालिम तथा सीप विकासमा सहयोग गरे आफूजस्ता नर्सरी व्यवसायीलाई फाइदा पुग्ने थापाको भनाइ छ । हेर्दा सजिलो देखिए पनि फूलका बिरुवा उमार्न र त्यसको स्याहार गर्न अत्यन्तै गाह्रो हुने थापाको अनुभव छ । पछिल्लो समय नर्सरीका लागि चाहिने प्लास्टिक, मल र बीउको मूल्य बढ्नुका साथै अभाव पनि रहेको उनी बताउँछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्