बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थाले

11

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थालेका छन्् ।

बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि गाईगोरू रोग र भोकले मर्न थालेका हुन् । बेनीको हाँडेभिर, खुलामञ्च, हुलाकचोक लगायतका सडकमा छाडा अवस्थामा रहेका एक दर्जनभन्दा बढि गाईबस्तु खानेकुरा नपाएपछि दुई सातादेखि भोकभोकै छन् । तीमध्ये तीनवटा पशु मरिसकेका छन् भने अन्य पशुहरुपनि खानाको अभावमा छटपटाइरहेको अवस्थामा पुगेका स्थानीयवासीले बताएका छन् ।

मङ्गलबार एउटा गाई मृत अवस्थामा भेटियो । मृत गाईको छेउमै भर्खरको बाच्छो दुध खोजिरहेको थियो । मृत गाईलाई स्काभेटरले पुर्दै गर्दा बेनीबजारको हुलाकचोकमा पनि एउटा गोरु भोकले छटपटाइरहेको अवस्थामा सडकमै पल्टिएको थियो । बुधबार पनि बेनीको खुलामञ्च नजिकै अर्को एउटा गाई पनि खान नपाएर मरेको अवस्थामा भेटियो । गाईगोरु मात्रै होइन, यतिबेला बेनी बजारका सडकमा दुई सातादेखि खाना नपाएका पशुचौपायाको बिजोग छ ।

विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमले बेनीबजारबासी घरभित्रै बस्दा बाहिर छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थामा देखिन्छन् । बेनीबजार तथा आसपासका चोकगल्लीमा भेटिने पशुचौपाया लामो समयदेखि भोकभोकै छन् । १५ दिनसम्म भोकभोकै रहेका पशुचौपाया मर्न थालेपछि उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । एकसातासम्म लम्बिएको लकडाउनको अवधिमा थप क्षति हुनसक्ने भन्दै पशुचौपायालाई कम्तिमा दुईपटक खुवाउनुपर्ने केन्द्रले जनाएको छ । बजार क्षेत्रमा गाईसँगै कुकुर समेत धेरै भएकाले भोकै कुकुरले आक्रमण समेत गर्न सक्नेतर्फ सर्तक हुनुपर्ने केन्द्रका प्राविधिकको भनाइ छ ।

एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढ्दै ग्एको छ । रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले छाडा पशुचौपायालाई दाना खुवाउन शुरू गरेको छ । छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थालाई मध्यनजर गरी बेनीका केही यूवाले लकडाउनको समयमा भोकभोकै रहेका पशुचौपायालाई दानापानीको व्यवस्था गरेका हुन् । लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बेनीबजारमा रहेका छाडा पशुचौपायालाई खोजी–खोजी दाना खुवाउने कार्य शुरु भएको बताउनुभयो । “मानिसको जिउने अधिकारजस्तै अन्य पशुपक्षीको पनि छ”, उहाँले भन्नुभयो, “नबोल्ने पशुपक्षी र प्राणीलाई समेत संरक्षण गर्नुपर्छ ।” —धु्रबसागर शर्मा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्