केरा पकेट क्षेत्र बैतडीमा रोगले केरा नष्ट

21

केरा पकेट क्षेत्रमै रोगले केरा नष्ट हुँदा बैतडीका किसान चिन्तित बनेका छन् । रोगले केराका बोट सुक्न थालेपछि केराबाट जीविकोपार्जन गरिरहेका जिल्लाको दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न स्थानका किसान मारमा परेका छन् । दोगडाकेदार गाउँपालिकाको सौगाउ, धारिगाड, बिन्सेरी, ढुङ्गेपानी बजगाउँ, खम्तोला, भन्डारीगाड, पिपलकोट, खेती गाउँ, कपिन्ना, खिरेगाउँलगायतका क्षेत्रमा केरामा रोग देखिएपछि किसान समस्यामा परेका हुन् ।

केराबाटै वार्षिक ५० हजार बढी आम्दानी हुने भए पनि पछिल्लो दुई वर्षयता केराका बोट सुक्दै गएपछि समस्या भएको किसान धनीदत्त भट्टले बताउनुभयो । घरखर्च चलाउन केराखेतीबाटै भइरहेको भए पनि पछिल्लो समयमा केराको बोट सुक्ने, केराका पात पहेँलो हुनेलगायतका रोगले केराखेती नष्ट भएको भट्टको दुखेसो छ ।

केराखेतीका लागि पकेट क्षेत्र मानिएका यी गाउँमा केराका बोट सुक्दै गएका किसानले बताएका छन् । केराको बारी सबै नष्ट हुँदै गएको किसान रामदत्त भट्टले बताउनुभयो । केराको बोट पहेँलो हुने, केरामा फल लाग्ने बित्तिकै बोट सुक्नेलगायतका रोगका कारण केराखेती नष्ट भएको उहाँले बताउनुभयो । केरामा लागेको रोग अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय घनश्याम भट्टले जानकारी दिनुभयो ।

यस्तै दशरथचन्द नगरपालिका–६ गाँजरी, फर्तोला, गरुडी, तितरा गाउँलगायतका क्षेत्रमा पनि केराखेती नष्ट भएको किसानले बताएका छन् । बोट सुक्ने रोगकै कारण केराखेती नष्ट भएका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “एकै जातको केरा धेरै वर्ष भएपछि केरामा रोग लागेको हुनसक्छ ।” किसानले केराको नयाँ जात रोप्न नसक्दा समस्या भएको उहाँको भनाइ छ । रोगले केरा नष्ट भएको ठाउँमा नयाँ जातको केरा लगाउन कृषि प्राविधिकले सुझाव दिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्