३० बिघा जमीनमा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

42

भद्रपुर, झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो ।

गत वर्ष चार कठ्ठामा गरिएको स्ट्रबेरी खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघामा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताउनुभयो ।

उहाँका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम रोपण भइरहेको छ । प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरी खेतीको परीक्षण झापामै सफल भएपछि यति ठूलो मात्रामा व्यावसायिक खेती शुरु गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका स्ट्रबेरी बिरुवा लगाइरहेको बताउनुभयो । कात्तिक पहिलो हप्ताबाट बिरुवा लगाउन शुरु गरिए पनि हालसम्ममा तीन लाख बिरुवा लगाइसकिएको उहाँले बताउनुभयो ।

आठ लाख ५० हजार बिरुवा लगाउन तयारी भइरहेको उहाँको भनाइ छ । मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी फल लगाएको दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने उहाँले बताउनुभयो । स्ट्रबेरी फलको बजार समस्या नहुने बताउँदै उहाँले भन्नुभयो, “हाल बजारमा यसको मूल्य रु ८०० देखि एक हजारसम्म छ, उत्पादन शुरु भएपछि ६०० मूल्य निर्धारण गरेर बिक्री गर्नेछौँ ।

रु १० करोड बढीको लगानीमा शुरु गरिएको खेतीमा हाल १०० बढीले रोजगारी पाएका छन् । विगतमा औद्योगिक क्षेत्रमा लगानी गरिरहेको प्रालिले यस वर्षदेखि कृषिमा समेत लगानी शुरु गरेको कम्पनीका लेखापाल विजय पाठकले बताउनुभयो । कम्पनीले ललितपुर जिल्लाको लेले भन्ने ठाउँमा समेत यसपटक १० रोपनी जग्गामा परीक्षणको रुपमा स्ट्रबेरी खेती लगाइएको छ ।

उहाँका अनुसार कम्पनीले झापाको बाह्दशी गाउँपालिकाभित्रै २१० बिघा जमीन खरीद गरेर व्यावसायिकरूपमा अग्र्यानिक फलफूल र तरकारी खेती गर्न शुरु गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्