कृषिमा ‘हाइड्रोपोनिक’ प्रविधि सफल

4

फलेवास। पहिलोपटक बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ सफल भएको छ ।

एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लाग्नुभएका कुश्माका लालबहादुर हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गर्नुभएको हो । मोदी– ५ र कुश्मा– ३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका हरिजनले गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती सफल भएको हो । युवापुस्ता लागि लोकप्रिय मानिएको सो प्रविधि जिल्लामा पहिलोपटक भित्रिएको हो । कृषिमा धेरै परिश्रम गर्न नचाहाने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँनयाँ माध्यम खोजिरहेका बेला कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिनप्रतिदिन बढ्दो छ । यस्तै युवाको भीडमा हरिजनले कृषिमा सो आधुनिक प्रविधि भित्र्याउनुभएको हो ।

हरिजनले तीन मिटर लम्बाइ, तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्यानलको सहयोगमा यस्तो प्रविधिको खेती गर्नुभएको छ । परीक्षणका रूपमा लगाइएको तरकारीले त्यही जमिनमा लगाएको भन्दा सात गुणा बढी उत्पादन दिएपछि उहाँ दंग पर्नुभएको छ । “जमिनको भन्दा फल धेरै छिटो र बढी उत्पादन भएको छ,” उहाँले भन्नुभयो । बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक हुने हरिजनको दाबी छ । परीक्षण सफल भएपछि हरिजनले लगत्तै करिब दुई रोपनी जमिनमा यस्तै प्रविधि अपनाउने सोच बनाउनुभएको छ । थोरै जमिन हुने तर करेसाबारी नहुनेका लागि यो प्रविधिको तरकारी उत्पादन प्रभावकारी हुने कृषि प्राविधिक बताउँछन् ।

“सम्पन्न मुलुकमा यो प्रविधि धेरै पहिलादेखि व्यावसायिक बनेको छ” वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भन्नुभयो, “हामीकहाँ भर्खर परीक्षण हुँदैछ । करेसाबारी नहुनेले छतमा लगाएर पनि तरकारी उत्पादन गर्न सकिन्छ । ”करिब डेढ मिटर उचाइको स्ट्यान्डमा दुवैतर्फ तीन–तीन वटा पिभीसी पाइप अड्याएर ३० इन्चको फरकमा पारेको प्वालमा प्लास्टिक कपको पिँध चिरेर तरकारीको बिरुवा रोपिन्छ ।

सोलारमा जडित सानो मोटरले ड्रममा खाद्यतत्व मिश्रित पानी पाइपमार्फत बिरुवाको फेदसम्म पु¥याउँछ । बढी भएको पानी प्रत्येक बिरुवामा घुम्दै ड्रममै फर्किन्छ । दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने बनाइएको हुन्छ । यही चक्रिय प्रणालीका कारण पाइपभित्र लगाइएको तरकारी वृद्धि हुन्छ । सोलारले तातेको पानीबाट सिँचाइ गरिन्छ । बिरुवा छोटो समयमा वृद्धि हुन्छ ।

माटोमा भन्दा ३० देखि ४० प्रतिशत छोटो समयमा फल्ने हरिजनले दाबी गर्नुभयो । एउटा स्ट्यान्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने बताइएको छ । रु १५ हजारदेखि रु २० हजारको लगानीमा तयार हुने यो प्रविधि एकपटक बनाइसकेपछि ३० वर्षसम्म काम लाग्ने हरिजनको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्