पशुपालक किसान कृतिम गर्भाधानप्रति आकर्र्षित

316
नश्ल सुधार गरिएका गाईभैँसीले दूध बढी दिने भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पशुपालक किसान कृतिम गर्भाधानप्रति आकर्र्षित भएका छन् ।
चालु आवको तीन महिनाको अवधिमै १८४ गाईभैँसीमा कृतिम गर्भाधान गरिएको छ । नगरपालिकाको पशु विकास शाखाका अधिकृत नारायणदत्त भट्टका अनुसार साउन, भदौ र असोज महिनामा गरी गाई ११४ र ७० वटा भँैसीमा कृतिम गर्भाधान गरिएको छ । गत आवमा भने गाई एक हजार ५० र भैँसी ५०० मा कृतिम गर्भाधान गरिएको थियो ।
कृतिम गर्भाधान गरिएका गाईमा ६० देखि ७० प्रतिशत र भैँसीमा ४० देखि ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अध्ययनले देखाएको अधिकृत भट्टको भनाइ रहेको छ । “कृतिम गर्भाधान गराउने कार्य तीव्र रुपमा हुन थालेपछि दूधको उत्पादनमा समेत वार्षिक रुपमा छ दशमलब ५ प्रतिशतका दरले वृद्धि हुँदै गएको छ” भेटेरेनरी अधिकृत रामप्रसाद भट्टले भन्नुभयो ।
गाईमा कृतिम गर्भाधान गराउँदा जर्सी, होलेस्टिन र भैँसीमा मुर्राको सिमेन राख्ने गरिएको छ । स्थानीय जातका गाईभैँसीको नश्ल सुधार गरी दुग्ध उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य पशु विकास शाखाको रहेको छ । उन्नत नश्लका गाईभैँसी उत्पादन हुन थालेपछि व्यावसायिक रुपमा गाईभैँसीका फर्म खोल्नेहरुको सङ्ख्याप्रति वर्ष बढ्दो रुपमा रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्