रिसिभिङ, राजनिती र कृषि शिक्षा

111

भर्खरै कृषि स्नातक अध्ययनको लागि प्रवेश परिक्षामा नाम निस्किएको विधार्थीको फोन बज्छ। उसलाई अनेकौं विधार्थी संगठनहरुले आफ्नो संगठनमा आउन लोभलालच, आश्वाशनका साथै धम्कि सहितका फोन आउँछन, उसलाई दिक्दार लाग्छ । उसलाई आफ्नो संगठनमा लैजान संगठनहरुबिच हानाथाप चल्छ, एकअर्काको टाउको सम्म फुटाउन पछि पर्दैनन् । उसलाई भिआइपि झै व्यवहार भएको देख्दा आफै छक्क पर्छ ।अन्त्यमा ऊ एउटा संगठनमा बस्न तयार हुन्छ । सुरु-सुरुमा उसलाई क्याम्पसको बन्द, हड्ताल, झैझगडा र अध्ययनको अवस्था देखेर दिक्दार लाग्छ । समय बित्दै जान्छ, बिस्तारै ऊ क्याम्पसको परिवेशमा घुलमिल हुँदै जान्छ। हिजो जुन कुरा देखेर दिक्दार लाग्थ्यो, ऊ त्यहि बाटो अगाँल्छ । ऊ अब फेरि प्रवेश परिक्षामा नाम निस्किएका नयाँ विधार्थीलाई फोन गर्न थाल्छ । यो चक्र चलिरहन्छ ।

कृषि क्याम्पसहरुमा परिचित र प्रख्यात शब्द हो रिसिभिङ । सामान्य अर्थमा कृषि अध्ययनका लागि नाम निकालेका नवआगन्तुक विधार्थीहरुलाई आफ्नो संगठनमा ल्याउनका लागि विधार्थी संगठनहरुको तर्फबाट गरिने कार्य र प्रकृयालाई रिसिभिङ भन्ने चलन छ ।

कृषि क्याम्पसहरुमा रिसिभिङको ईतिहास पुरानो छ, कृषि क्याम्पसमा यसले जरा गाडेर बसेको छ भन्दा फरक नपर्ला । यसैका लागि विधार्थी संगठनहरुबिच झै-झगडा, लडाइँ र बन्द प्राय भइरहन्छ । रिसिभिङ केका लागि ? भन्ने प्रश्नमा विधार्थी संगठनहरुको ओठे जवाफ हुन्छ, आफ्नो संगठनको आकाररसदस्य संख्या बढाउन । अनि संगठनको आकार चाहिँ किन बढाउने ?  आफ्नो शक्ति बढाउन ।अनि शक्ति चाहिँ किन बढाउनेरुु यो तेस्रो प्रश्नको चित्तबुझ्दो जवाफ पाउन गाह्रो छ । कोही भन्लान विधार्थी हकहित र अधिकारका लागि, विधार्थीको माग पूरा गर्नका लागि, क्याम्पसमा हुने बेतिथि रोक्नका लागिु।।।।।आदि इत्यादि । यो तेस्रो प्रश्नको उत्तर जसले जे दिएपनि व्यवहारिक रुपमा खासै लागू भएको देखिदैन ।

कृषि क्याम्पसका विधार्थी संगठनहरु आफ्नो सदस्य संख्या बढाउनमा तल्लीन छन । बढि सदस्य संख्या भएका संगठनहरु कम सदस्य भएका संगठनहरुलाई हेपाहा नजरले हेर्ने प्रवृत्ति हावी छ । विधार्थी संगठनहरु विधार्थी हकहितका निम्ति भन्दा पनि झैझगडा गर्ने, त्यहि झैझगडाको पक्ष-विपक्षमा क्याम्पस बन्द गर्ने, प्राध्यापकहरुद्वारा परिचालित भएर प्राध्यापकको राजनैतिकरव्यक्तिगत स्वार्थका निम्ति आन्दोलन गर्ने आदि जस्ता कार्यमा अग्रसर भएको देखिन्छ । विधार्थी संगठनको आकार झैझगडा र नकारात्मक कार्यहरुमा हावी भएको देख्न सकिन्छ ।

एक हिसाबले भन्ने हो भने कृषि क्याम्पसमा विधार्थी राजनितीु भन्दा अराजनितिु बढी हुन्छ । कोहि मानुन या नमानुन यथार्थ यही हो । यदि साँचो राजनीति हुने थियो भने कृषि क्याम्पसहरुको आजको दुर्गति हुने थिएन । यदि साँच्चै संगठनहरु हुन भने, हरेक संगठनका आफ्ना मान्यताहरु छन, सिद्धान्तहरु छन ।

विधार्थी संगठनहरु चाहे कम्युनिस्ट समर्थक हुन, चाहे प्रजातान्त्रवादी समर्थक हुन या अरु कोहि समर्थक हुन, सबैको उदेश्य भनेको विधार्थी हकहितको आवाज उठाउनु, शिक्षामा सुधार ल्याउनु, शैक्षिक विकृति हटाउनु नै हो । तर, कृषि क्याम्पसमा आफ्नो संगठनले गरेका कामजति सबै सहि, अर्को संगठनले गरेका सबै काम गलत भन्ने प्रवृत्ति बढी हावी छ । हरेक कुरालाई राजनितीको चश्माबाट नियाल्ने बानी नै यसको मुख्य कारण हो । यदि साँचो राजनीति हो भने, संगठनको उदेश्य विधार्थी हक-अधिकारका लागि लड्ने हो भने किन एकआपसमा झैझगडा गर्नुपर्यो रु विधार्थीका मागहरु र उदेश्यहरु साझा छन भने किन अर्को संगठनले उठाएका मागहरु गलत नै मान्नुपर्यो रु किन विपक्षी संगठनमा बस्दैमा अरुलाई शत्रुको व्यवहार गर्नुपर्योरु किन अर्को संगठनले उठाएका कुरा सबै गलत र आफ्ना मात्रै कुरा सहि हुन्छन् रु के सबै संगठनहरु विना द्वन्द्व साथमा उभिन सकिँदैन ?

कृषि क्याम्पसमा राजनीति या गुन्डागर्दी गर्ने उदेश्य बोकेर आउने विधार्थी प्राय नगन्य नै हुन्छन । भर्खरै +२ मा विज्ञान विषय पढेर आएका विधार्थीमा न कम्युनिस्टको ज्ञान हुन्छ, न त प्रजातन्त्रवादको या अन्य कुनैको । जब नवआगन्तुक विधार्थीहरु छुट्टाछुट्टै संगठनमा बस्छन, तब सिनियरको बाटो पछ्याउँछन । विपक्षी संगठनका सदस्य र तिनलाई हेर्ने कामहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणको बिजारोपण त्यति बेलै हुन्छ । त्यो बिऊ यति भयानक रुपमा फैलिन्छ कि छोटो समयमै विधार्थीमा सहि र गलत नहेरी अर्को संगठनका सदस्यहरुलाई शत्रुको नजरले हेर्ने र उनीहरुका हरेक गतिविधिहरु गलत नै हुन्छन् भन्ने पुर्वाग्रही भावना उत्पन्न हुन्छ ।

अर्कोतर्फ विधार्थीलाई प्रयोग गरि प्रशासन र प्राध्यापकहरु शक्ति र पदको चरम दुरुपयोग गरिरहेका छन । प्रशासनिक र प्राध्यापकका पदहरु राजनीतिक भागबन्डाको आधारमा गरिन्छ । प्राध्यापकहरुले आफुनिकट विधार्थी संगठनलाई आफ्नो स्वार्थका निम्ति परिचालन गरेका कैयौं उदाहरणहरु छन । लाजमर्दो कुरा त के भने राजनितीक आबद्धताको आधारमा परिक्षाको अंकमा समेत विभेद गर्ने प्राध्यापकहरु समेत भेटिन्छन । छ महिनाको कोर्स छ घन्टा पनि नपढाई सिद्धयाउने, सरकारी तलब खाने तर निजी कलेजहरुमा बढी देखिने, आफ्नो स्वार्थका लागि विधार्थीलाई उक्साएर क्याम्पस बन्दरआन्दोलन गर्न लगाउने जस्ता प्राध्यापकका गतिविधिहरु सामान्य भइसकेका छन । हालै मात्र क‌ृषि र पशु विज्ञान अध्ययन संस्थानको स्नातकोत्तर तहको प्रश्नपत्र बाहिरिएको खबर आउनु र कृषि र वन विश्वविद्यालयमा स्नातकोत्तर तहको पशु विज्ञानको प्रवेश परिक्षामा अनियमितता भएको खबर आउनु प्राध्यापकहरुको भ्रष्टपनको सानो उदाहरण मात्रै हुन ।

विधार्थीको आँखै अगाडि यस्तो गलत कार्य हुदाँ पनि कुनै विधार्थी संगठन यसको विरोधमा बोल्ने शाहस गर्दैनन । त्यस्ता प्राध्यापकहरु कुनै न कुनै पार्टीमा आवद्ध भएकै हुन्छन । विधार्थीले एक(अर्काको टाउको फुटाउदा, झै-झगडा गर्दा आफुनिकट विधार्थी संगठनको पक्ष लिने तिनै प्राध्यापक हुन । यसरी प्राध्यापक र विधार्थी एक-अर्काको गल्ती छोप्नमा लागेर तैँ चुप, मै चुपू भएका छन ।

यहि रिसिभिङ र राजनीतिको चपेटामा कृषि शिक्षा परेको छ । विधार्थीले राजनिती र रिसिभिङमा भुलेर आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरेका छन । चाहे विधार्थी आपसमा लडेर होस या अरु कसैबाट परिचालित भएर होस, यसबाट असर पर्ने विधार्थीलाई नै हो । सिमित स्वार्थका लागि विधार्थीहरुलाई खेलाइएको मात्रै छ । महिनौँ हुने बन्द र आन्दोलनले अध्ययन-अध्यापनमा अतुलनीय क्षति त पुर्याएको छ नै, साथमा क्याम्पसमा विपक्षी संगठनका विधार्थीको टाउको फुटाउनु सामान्य जस्तै भएको छ ।

निरर्थक कारणका लागि विधार्थीको शक्ति र समय खेर गइरहेको छ । कृषि जस्तो प्राविधिक विषय आज सुगा रटाइमा सिमित बन्न पुगेको छ । प्रयोगात्मक कक्षाहरु आज फाइलका पानामा सिमित छन । आजको कृषि शिक्षाले भोलिको समग्र नेपालको कृषिको भविष्य निर्धारण गर्छ । वर्तमान शिक्षा प्रणालीले कृषि पढेका विधार्थीहरु मात्र उत्पादन गरेको छ, कृषि विज्ञहरु हैन । शिक्षा त प्रतिस्पर्धी, व्यवहारीक र समस्याको समाधान गर्ने हुनुपर्छ ।

किसानलाई आफ्नो समस्याको समाधान गर्ने कृषि विज्ञको आवश्यकता छ, कृषि क्याम्पसहरु केवल कृषिका सर्टिफिकेट बाँडिरहेका छन । किसानको समस्या सर्टिफिकेट देखाएर समाधान हुनेवाला छैन, त्यसका लागि दक्षता र सिपको आवश्यकता पर्छ । अहिलेको पद्धतिले कृषिका विधार्थीलाई गहुँ र जौ छुट्याउन सक्ने पनि ज्ञान र सीप दिन सकेको छैन ।

कृषि शिक्षालाई पुर्णरुपमा निराशावादी सोचले हेर्नू पनि गलत हुन्छ । अधिकांश विधार्थीहरु क्याम्पसमा मेहनत गरेर पढ्ने र अध्यय-अनुसन्धानलाई प्राथमिकतामा राख्ने नै छन । प्रयाप्त समय दिएर विधार्थीलाई सक्दो ज्ञान बाँड्ने प्राध्यापकहरु पनि प्रशस्तै छन । तर उनीहरु सबै विधार्थी संगठन र प्राध्यापकको राजनितीको चपेटामा परेका छन । विधार्थी आन्दोलनलाई पुरै नकारात्मक भन्न पनि मिल्दैन । बेला-बेलामा सबै संगठनहरु मिलेर सकारात्मक कुराका लागि लडेका पनि छन । तर , त्यस्ता सकारात्मक कार्यहरु ज्यादै न्यून भएका छन । वर्तमान समयमा विधार्थी संगठनको आवश्यकतालाई नकार्न पनि सकिदैन । तर, के विधार्थी संगठनहरु राजनितीक नै हुनु अनिवार्य छरु यसमा बहसको आवश्यकता देखिन्छ । चाहे जुन सुकै संगठन होस, सहि कुरालाई खुलेर समर्थन र गलत कुरालाई खुलेर विरोध गर्नु आवश्यक छ ।

विधार्थी संगठनहरु कुनै प्राध्यापक वा कुनै सिमित विधार्थीको स्वार्थका निम्ति नभएर सम्पुर्ण विधार्थी र कृषि शिक्षालाई नै टेवा पुर्‍याउने आवाज लिएर मैदानमा आउनु जरुरी छ । अब विधार्थी कुनै संगठनको सदस्य भन्दा पनि दक्ष कृषि विज्ञ भएर चिनिनु जरुरी छ ।

राजनीति गर्न मन हुनेहरु राजनीति गरुन् तर राजनीतिको खोल ओडेर अराजनीति नगरुन । विधार्थी राजनीति होस त स्वच्छ र स्वस्थ्य राजनीति होस । क्याम्पस पार्टीका कार्यकर्ता भर्ती गर्ने भर्तीकेन्द्र नबनोस । प्राध्यापक, कर्मचारी वा प्रशासनिक पदमा दक्षताका आधारमा नियुक्ति दिइयोस ।

कृषि क्याम्पसहरु सर्टिफिकेट मात्रै होइन, ज्ञान र सीप पनि बाँडुन । विधार्थीले आज नै भविष्यको बारेमा नसोच्ने हो र रिसिभिङ(राजनीतिको पुरानै चक्रमा फसिरहने हो भने भोलि त्यस चक्रबाट निसक्दा पछुतो र आत्मग्लानी बाहेक केही हुने छैन । संगठन संख्याले होइन, सोच, विचार, सिद्धान्त र असल कामले चल्नुपर्छ भन्ने चेत विधार्थीमा आउनैपर्छ । जबसम्म कृषि शिक्षामा सुधार हुदैन, कृषि क्रान्ति दिवा सपना मात्र हुनेछ ।

नोट : लेखक रामपुर कलेजमा अध्यनरत छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्