आर्गनिक र ताजा भएपछि पछिल्लो समय नेपालगञ्जमा नेपालमै उत्पादन हुने तरकारीको माग बढेको छ । माग बढेसँगै नेपालगञ्जमा दाङ, बर्दिया, सुर्खेत, दैलेख, रोल्पा र सल्यान लगायतका जिल्लाबाट तरकारी आउने गरेको छ ।
प्रदेश नं ५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट तरकारी आउन थालेपछि भारतबाट आउने तरकारीको मात्रा पनि घटेको नेपालगञ्ज तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।
नेपालगञ्जमा विशेष गरी सल्यानको कपुरकोट र अन्य पहाडी जिल्लाको तरकारीले राम्रो बजार लिने गरेको अकरम थोक तरकारी पसलका व्यवस्थापक मोबिन सल्मानी बताउनुहुन्छ । उहाँका अनुसार वर्षको झण्डै २०० क्विन्टल तरकारी सल्यान कपुरकोटलगायत रोल्पा, दैलेख, बाँके, बर्दिया, दाङ, सुर्खेतबाट नेपालगञ्जमा आयात हुने गरेको छ ।
उपभोक्ताको पहिलो रोजाइ नेपालकै तरकारी हुने गरेकाले आयात हुने गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ की सीता पौडेलले भारतको तरकारीभन्दा पहाडको तरकारी अर्गानिक हुने र विषादीको मात्रा पनि कम हुने भएकाले आफ्नो पहिलो रोजाइमा पर्ने गरेको छ भन्नुभयो ।
आम उपभोक्ताको मागका आधारमा नेपालगञ्जका व्यापारीले अहिले भारतकोभन्दा नेपालमै उत्पादित विभिन्न जिल्लाको तरकारी बढी ल्याउने गरेको सल्मानी बताउनुहुन्छ ।