दश करोडको लागतमा नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु

63

तनहुँको दमौलीमा रु दश करोडको लागतमा नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा अस्पताल भवन निर्माण शुरु भएको हो ।

गुणस्तरीय पशु चिकित्सक सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण थालिएको केन्द्रका प्रमुख डा। बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । “विज्ञ केन्द्रबाट हाल सामान्य मात्रै चिकित्सा सेवा उपलब्ध भइरहेकामा अस्पतालको भवन निर्माणसँगै थप सेवाहरु प्रदान गरिनेछ”, उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्षमा भवन निर्माणका लागि करिब रु पाँच करोड बजेट विनियोजन भएको छ । भवनको लागत रु दश करोड रहेपनि यस वर्ष रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को काम हुनेछ । त्यसका लागि चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको छ । सम्झौताअनुसार १८ महिनाभित्र भवन निर्माण सम्पन्न हुनेछ ।

६०५ वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । “पशुपंक्षीको उपचार उच्च प्रविधिबाट गर्न प्रयोगशाला पनि सञ्चालन गर्छौ”, उहाँले भन्नुभयो, “अस्पताल भवन निर्माणसम्पन्न सँगै तनहुँका अतिरिक्त छिमेकी पालिकाका कृषकले पनि सेवा पाउनेछन् ।” अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशाला लगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । “अहिले पनि पशुपंक्षीको उपचार भइरहेको छ, तर यो अस्पताल बनेपछि विशिष्ट सेवा प्रदान हुनेछ”, डा। श्रेष्ठले भन्नुभयो ।

तनहुँमा पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै जाँदा सुविधासम्पन्न अस्पतालको खाँचो औंल्याइएको थियो । भेटेरीनरी अस्पताल निर्माण सुरु भएसँगै पशुपालक कृषक पनि हर्षित भएका छन् । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनिसकेको छ । “जिल्लामा दूध, मासु र अण्डाको जति माग छ, त्यो भन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ”, डा। श्रेष्ठले भन्नुभयो ।

जिल्लामा मागभन्दा २१ हजार २ सय ६२ मेट्रिक टन दूध बढी उत्पादन भइरहेको छ । जिल्लामा २९ हजार ४ सय १९ मेट्रिक टन दूधको माग रहेको तथ्याँङ्क छ । त्यस्तै चार हजार ५ सय २६ मेट्रिक टन मासुको माग रहेकोमा जिल्लामा एक सय ६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ । यसैगरी जिल्लामा एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग रहेकोमा ७ लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ ।

केन्द्रले युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण, तालिम प्रदान र प्राविधिक सहयोग गर्ने लगायतका काम गर्दै आइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्