शिक्षण पेशा छाडेर कागती खेती

45

चितवन, पूर्वी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागती खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका–६ जमुनापुरका सिपी अधिकारीले निजी बोर्डिङ र क्याम्पस पढाउन छाडेर पेशागतरूपमा कागती खेती गर्न शुरु गर्नुभएको हो । अधिकारीले आफ्नो एक बिघा र भाडाको एक बिघा १० कठ्ठामा कागती खेती गर्नुभएको हो । पाँच वर्षअघि आफ्नो जमीनबाट खेती शुरु गर्नुभएका उहाँले दोस्रो वर्ष भाडामा जग्गा लिएर खेती विस्तार गर्नुभएको थियो ।

अधिकारीका अनुसार पहिलो वर्ष ३५० बिरुवा र दोस्रो वर्ष ६५० बिरुवा रोप्नुभएको थियो । तेस्रो वर्षबाट उत्पादन शुरु भएको हो । अधिकारीले कागती लगाएको तेस्रो वर्ष रु तीन लाख र चौथो वर्ष रु आठ लाख आम्दानी गरिसक्नुभएको छ । यस वर्ष रु १० लाखको कागती बिक्री गर्ने उहाँको लक्ष्य छ । असार १५ देखि चैतसम्म उहाँको कागती बिक्री हुने गर्दछ । यस वर्ष पाँच बिघा थप गर्ने लक्ष्य रहेको भए पनि लकडाउनका कारण सम्भव नभएको उहाँले बताउनुभयो । आउँदो वर्ष उहाँ खेती बिस्तार गर्दै हुनुहुन्छ । वर्षमा रु एक लाख ५० हजारदेखि दुई लाखसम्म खर्च हुने भए पनि आम्दानी राम्रो हुने गरेको उहाँको भनाइ छ । कागती लगाउँदा प्रतिबिरुवा रु १८५ मा खरिद गरेपछि पछिल्ला वर्षहरूमा गोडमेल र औषधि उपचारमा मात्र खर्च हुन्छ ।

भाडाको जग्गाको वार्षिक प्रतिकठ्ठा रु तीन हजार तिर्नुपर्ने हुन्छ । विज्ञानमा स्नातक गर्नुभएका अधिकारीका लागि पढाउन जहाँ कहीँबाट बोलाउने गरिन्थ्यो । त्यसो त ट्युसन, कोचिङमा पनि राम्रो आम्दानी हुन्थ्यो तर ती सबै छाडेर शुरुमा बाख्रा पाल्दा त्यति सफल हुन नसकेपछि उहाँले कागती खेतीमा हात हालेको बताउनुभयो । सत्र वर्ष शिक्षण पेशाको अनुभव सँगाल्नुभएका उहाँ यतिबेला कागतीको अध्ययन–अनुसन्धानमा पनि व्यस्त हुनुहुन्छ ।

कागतीको बिरुवा उत्पादन गर्ने तयारीमा उहाँ जुट्नुभएको छ । भारतीय कागती नेपाली बजारभरि हुने तर हामी बाँझो खेत र खाली हात बसिरहेको भन्दै उहाँले मेहेनत ग¥यो भने यहीँ मनग्य आम्दानी हुने बताउनुभयो । चितवनको बजारमा मात्र एक सातामा २० टन भारतीय कागती बिक्री हुने उहाँको भनाइ छ । कालिका नगरपाकिलामा १० जनाले व्यावसायिक कागती खेती गरेका छन् । जिल्लामा यो सङ्ख्या ५० हाराहारी रहेको छ । यहाँ १०० बिघामा कागती खेती भएको अनुमान छ ।

प्रतिकिलो रु १०० देखि २०० सम्ममा कागती बिक्री हुने गर्दछ । भारतीय कागतीको प्रभाव, यहाँका किसानले अनुदान नपाउनु, प्राविधिक सहयोग नहुनुजस्ता कारण काममा कठिनाइ हुने गरेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै बसेर आफैँले मेहेनत गर्न सकेमा यहीँ सफलता हासिल गर्न सकिन्छ ।” आफूले पाँच वर्षमा सिकेको ज्ञान बाँड्न तयार रहेको भन्दै उहाँले कागती खेती गर्नेहरूलाई सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

सोही क्षेत्रका पत्रकार शिशिर सिम्खडाले अधिकारी नमूना कृषक भएको बताउनुभयो । नपढेकाहरूले मात्र होइन पढेकाहरूले पनि कृषिकर्ममा लाग्नुपर्छ भन्ने उदाहरण उहाँले दिएको बताउनुभयो । राज्यले सहयोग गर्न सकेमा नेपालमा नै कागतीमा आत्मनिर्भर बन्न सक्ने उहाँको मेहेनतले देखाएको सिम्खडाको भनाइ छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्